सम्बन्ध बिच्छेद - प्रेम कथा !

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: "तिमी सित एउटा कुरा गर्नु छ्"। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिन देखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो - म तिनि सँग सम्बन्ध बिच्छेद गर्न गईरहेको थिएँ। मैले आफ्नो कुरा संयमका साथ राखेँ। मेरो कुरा बाट तिनी बिस्मय/चकित् भएको पाइन, बरु नम्र भएर सोधी: किन ? मैले तिनको प्रश्नलाई टार्न खोजेँ। तिनी रिसाइन् र चिपस्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन्। त्यस रात हामी दुवै बिच कुराकानी भएन, तिनी रोई रहेकी थिइन्। हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखा पर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो। तर म संग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन।

जेन भन्ने महिलाले मेरो हृदय जिति सकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडि सकेको थिएँ। तिनि प्रति दया जागेर आयो। गह्रुगो अपराध बोधका साथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ। तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर च्यातच्युत पारीन्। दश दश बर्ष सम्म एउटै छाना मुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो। यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ। तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख हुन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ। अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन्। साँच्चै भन्ने हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो। अनि धरै दिन देखि मनमा सँगालि राखेको सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भए जस्तो लाग्यो।

अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबल माथि केही लेखिरहेकी थिइन्। मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेन संग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ। जब म बिउँझे, तिनी अझै लेख्दै थिइन्। मैले वास्ता गरिन र अर्को तर्फ फर्केर फेरी सुतेँ। भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन-सम्बन्ध्-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनु पर्ने बाहेक तिनले म बाट कुनै हक दावी गरिन। त्यो एक महिना भित्र हामी दुवैले सके सम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १ महिना पछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस् भन्ने तिनको चाहना थियो। यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ, त्यो सँस्मरण गर्न भनिएको थियो। अनि त्यो एक महिनाभरी बिहे ताका झैँ तिनलाई शयन कक्ष बाट घरको बाहिरी ढोका सम्म बोकेर लानु पर्ने तिनको अनुरोध थियो। कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ। हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस् भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ।

मैले जेन लाई मेरी श्रीमतीको शर्तहरु बारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन्: जस्तो सुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्- बिच्छेद नगरि धरै पाउँदिन। हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भए देखी श्रीमती र म बिच शारिरीक सम्बन्ध भएको थिएन। उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो। ड्याडिले मम्मीलाइ बोक्नु भयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो। छोराले त्यसो भन्दा मैले नजानिदो पिडा महसुस गरेँ। श्रीमती लाई बोकेर शयन्-कक्ष देखी बैठक कोठा हुँदै मुल ढोका सम्म करीब १० मिटर म हिँडे हुँला। मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन्: हाम्रो सम्बन्ध-बिच्छेद बारे छोरालाई नभन है। मैले दुखी भएर स्वीकृति सुचक टाउको हल्लाएँ। तिनी काममा जान बस बिसौनि तिर लागिन् भने, म एक्लै गाडी हाँकेर अफिस गएँ। दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छाती माथि राखिन्, तिनको ब्लाउज बाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो। तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ, तिनी अब पहिले जस्तो जवान थिइनन्, निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो। वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो। म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ। चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ। यिनी तिनै महिला थिइन्, जसले बिगत दश बर्ष देखी मलाई साथ दिँदै आएकी थिइन्।

पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ। जती जती समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो। शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा छान्दै थिइन, चार पाँच चोटि लुगा फेरिसके पछी लामो सुस्केरा हालेर भनिन्: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनै पनि जीउमा मिल्दैन। मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मन भित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन् भन्ने कुराले मलाई अत्यधिक पीडा बोध भयो। एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ। त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र ? उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले। मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन् र बेस्कन अंगालो हालिन्। आफ्नो अडानमा बिचलन नआओस् भन्नाका खातिर मैले टाउको अन्तै मोडेँ। शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटिमा आराम संग बेरिएका थिए, हाम्रो विवाह् अवसरमा झै मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ। तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ।

अन्तिम दिन जब मैले तिनलाई बोकेँ, किन किन मैले पाइला चाल्न सकिरहेको थिइन। छोरो स्कुल गईसकेको थियो। मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन। म काममा हिँडे, अफिस पुगे पछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ। केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो। माथ्लो तल्लामा उक्ले पछी जेन ले ढोका खोली दिइन्। आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेन लाई बताएँ। जेन ले छक्क परेर मतिर हेरिन् र मेरो निधार छामिन्। तिमीलाई ज्वोरो आएको छ ? तिनले सोधिन्। निधार बाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रस हीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ, जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ। विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घर भित्र भित्र्याए झै जिन्दगीको अन्तिम क्षण सम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु। जेन जुरुक्क उठिन, बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन्।

म गाडी चढेर घर तर्फ लागेँ। बाटोमा फूल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले सोधी: कार्डमा के लेखिदिउँ ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ - जीवनको अन्तिम घडी सम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!! हातमा फूल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ। दगुर्दै भर्र्याङ् उक्लेँ। यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ। म जेन को प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु। आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ। हाम्रो सम्बन्ध्-बिच्छेद भईगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस् र छोराको नजरमा म दोषी नदेखियोस् भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन् - फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ।
....................................
जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा -यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन्!!!! तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवन साथी संग आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किन बाट जोगाउँछ। सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ। (घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगम गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु। यो मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो, फिक्सन पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुन सक्छ, जे भए पनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ। फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो। मौलिक लेख अंग्रेजिमा थियो र मैले नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु। कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ।
( मेरो यो अनुवादले कुनै नेपाली को भत्किन लागेको घरलाई टेको दिन समर्थ भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्ने छु। पाठकहरुको प्रतिकृयाको अपेक्षा राख्दै ... )

2 Responses to "सम्बन्ध बिच्छेद - प्रेम कथा !"

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. Marmik katha - Man Paryo. Jiban ka jhina masina kuraharu laai kahilei bewasta garnu hudaina. Yi bhaneka baibahik sambandhlai sadhain tikaune khamba haru hun - Well said.

    ReplyDelete

First of all, thank you for taking the time to read my blog. It's much appreciated! If you would like to leave a comment, please do, I'd love to hear what you think!

Suggestions and/or questions are always welcome, either post them in the comment form or send me an email at drgurung82@gmail.com.

However, comments are always reviewed and it may take some time to appear. Always keep in mind "URL without nofollow tag" will consider as a spam.